चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठानको रुपमा विकास गर्दै लैजाने नीति छ : स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठानको रुपमा विकास गर्ने र प्रमुख संघीय अस्पताललाई शैक्षिक संस्थाको रुपमा विकास गर्दै लैजाने नीति लिएको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई केन्द्रमा राखेर यस प्रतिष्ठानको गठन गरेको थियो । तर समयानुकूल हुँदै गर्दा यसको दायरा पनि फराकिलो हुनुपर्छ र यस चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अब छाता प्रतिष्ठानको रुपमा विकास गर्दै देशका प्रमुख संघीय अस्पताललाई टिचिङ इन्स्टिच्युट ‘शैक्षिक संस्था’को रुपमा विकास गर्दै लैजाने नीति लिएको अवगत गराउन चाहन्छु ।’

यसबाट सेवाको गुणस्तरमा उल्लेख्य सुधार ल्याउने मात्र नभई स्वास्थ्य अनुसन्धान, स्वास्थ्यका जनशक्तिको उत्पादन र विविध विद्याबीचको परस्पर सिकाइलाई पनि प्रोत्साहित गर्ने मन्त्री गिरीको विश्वास छ ।

विशेषज्ञ चिकित्सक उत्पादनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अग्रणी भूमिका खेलेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । ‘देश र माटो सुहाउँदो जनशक्ति उत्पादन गरेर नेपालको स्वास्थ्य क्षेत्रलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले ठूलो गुन लगाएको छ,’ उहाँले भन्नुभयो ।

भविष्यमा अझ धेरै विद्या र धेरै तहका शैक्षिक कार्यक्रमसहित देशको प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा यसलाई स्थापित गर्न उहाँले शुभकामना दिनुभयो । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबै खालका सहयोग गर्न तयार रहेको मन्त्री गिरीले बताउनुभयो ।

Back to top button