पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै समावेश गर्ने

काठमाडौं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै आज सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुष २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिनुभयो ।

क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुष २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

२०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको मन्त्री शर्माले बताउनुभयो।

‘बिदाका विषयमा के गर्ने भन्ने पहिले मन्त्रिपरिषदमा छलफल भएको थियो, त्यसलाई पुनरालोकन गर्नुपर्छ भन्ने पनि छ,’ उहाँले भन्नुभयो,‘अहिले पात्रो छापिसकेको अवस्थामा भदौसम्ममा पुनरावलोकन गर्ने र आगामी सालका निम्ति व्यवस्थित गरेर लैजाने निर्णय भएको छ ।’

Back to top button