दीपेन्द्र सिंहको ब्याटिङमा नेपाल विजयी

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अविजित ८५ रनप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा २ सय ७४ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपालका लागि सातौं नम्बरमा ब्याटिङमा आउनुभएका दीपेन्द्रले १ सय १६ बलको सामना गर्दै ८ चौका र १ छक्कासहित अविजित अर्धशतकीय इनिङ खेख्नुभयो।

त्यसअघि कुशल मल्लले अर्धशतकीय इनिङ खेल्नुभएको थियो। पाँचौं नम्बरमा क्रिजमा उत्रिनुभएका कुशलले ४२ बलमा ६ चौका र ३ छक्कासहित ५० रन पूरा गर्नुभएको थियो। आक्रामक ब्याटिङ गर्नुभएका कुशलले २८औं ओभरमा आउट हुनुअघि ९ चौका र ४ छक्कासहित ८१ रनको महत्त्वपूर्ण इनिङ खेल्नुभएको थियो।

नेपालका ओपनर कुशल भुर्तेल १६, आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल चार तथा कप्तान रोहित पौडेल ६, सन्दीप जोरा पाँच र गुल्शन झा १७ रन जोडेर आउट हुनुभयो। सोमपाल कामी २४ रनमा अविजित रहनुभयो।

स्कटल्यान्डका लागि क्रिस सोल र मार्क वाटले समान ३–३ विकेट लिनुभयो। यस्तै, माइकल लिस्कले एक नेपाली ब्याटरलाई पेभेलियन फर्काउनुभएको थियो।

पहिलो इनिङमा १ सय ११ रन बनाउँदा २५औं ओभरमा ६ विकेट गुमाएको स्टकल्यान्डका लागि लिस्कले शानदार इनिङ खेल्नुभएको थियो। भ्रमणकारी टिमका लागि ८५ बलको सामना गर्नुभएका लिस्कले ३ चौका र ९ छक्कासहित १ सय ७ रनको अविजित शतकीय इनिङ खेल्नुभयो।

लिस्कसँग ८१ रनको साझेदारी गर्नुभएका ज्याक हार्भिसले २६ रन बनाएर आउट हुनुभएको थियो। त्यसअघि ओपनर क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची १९ रन जोडेर पेभेलियन फर्किनुभएको थियो।

त्यसबाहेक ब्रान्डोन म्याकमुलेन २२ तथा क्रिस ग्रिभेस १६ रन जोडेर आउट हुनुभयो। मार्क वाट २० रन जोडेर रन आउट हुनुभयो।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिनुभयो। यस्तै, कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिँदा १ मेडन राख्नुभएको थियो। यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिनुभयो।

शृंखलामा नेपालको यो दोस्रो जित हो। नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले पराजित गरेको थियो। यस्तै, गत बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो।

त्यो जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ च्याम्पियन बनिसकेको छ। नेपालले शृंखलाको दोस्रो खेलमा भोलि नामिबियासँग खेल्ने छ। यस्तै, शृंखलाको अन्तिम खेलमा नेपाल र स्कटल्यान्ड नै मंगलबार भिड्ने छन्।

Back to top button