दुर्गा प्रसाईलाई पार्टीबाट निष्कासन गर्न सिफारिस, ८१ जनालाई कारवाहि

विराटनगर । नेकपा एमालेको प्रदेश १ कमिटीले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ । हिजो बसेको प्रदेश कमिटीको बैठकले उनिहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।
एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरुलाई कारबाही गरिएको छ । बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको उहाँले बताउनुभयो ।
प्रदेश कमिटीका ८१ जनालाई कारबाही गरे पनि नाम भने तत्काल सार्वजनिक नगरिने पाठकले बताउनुभयो । स्थानीय तहदेखि प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई पार्टीबाट निष्कासन गरेको हो ।
यस्तै बैठकले दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उहाँलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।
केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उहाँका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उहाँलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहनुभएका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गर्नुभएको छ ।
प्रदेश सचिव पाठकले भने, ‘दुर्गा प्रसाईं पछिल्लो समय पार्टीको नीति र सिद्धान्त विपरीत, संविधान विरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाहीका लागि केन्द्रीय कमिटीलाई बैठकले सिफारिस गरेको छ ।’

Back to top button