देशका विभिन्न ८ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले देशका विभिन्न ८ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ । सरकारले मण्डनदेउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगङ्गा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ मा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको हो ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा सर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णयसमेत गरेको बताउनुभयो ।

उहाँका अनुसार सरकारले संवैधानिक परिषद् (विकास, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने र बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८–७९ मा प्रचलित कानुनबमोजिम नष्ट गरिएका वस्तुको लागि राहत प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले संवत् २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । यही फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५२औँ सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

Back to top button