टुँडिखेलमा आज ‘महाशिवरात्रि तथा सेना दिवस–२०७९’ मनाइँदै

काठमाडौं । नेपाली सेनाले आज महाशिवरात्रि तथा २६० औँ नेपाली सेना दिवस–२०७९ परम्परालाई कायम राख्दै मनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आज आयोजित एक विशेष कार्यक्रममा नेपाली सेनाले सेना दिवस मनाएको हो ।

राष्ट्रपति नेपाली सेनाका परमाधिपति रहने व्यवस्था छ। टुँडिखेल स्थित सैनिक मञ्चमा आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्रि तथा सेना दिवस– २०७९’ अंकित ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झन्डाको आकृति समेत निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रिको बढाइँ गरिएको थियो।

यसैगरी सैनिक युद्धकला, शहरी इलाकामा ठुला र अग्ला भवनमा हुने आगलागीको बेला हुने उद्धार सम्बन्धी विशेष कलाको प्रयोग गरी उद्धार, मार्चपास, खुकुरी नृत्य, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्न हातहतियार, भेहिकल तथा उपकरणको प्रदर्शन गरिएको थियो।

सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , मन्त्रिगण, विभिन्न संवैधानिक निकायका प्रमुख, सेनाका सेनाध्यक्ष, विभिन्न निकायका प्रमुख, विदेशी राजदूत र कूटनीतिक प्रमुख, सर्वसाधारण लगायतको उपस्थिति थियो ।

Back to top button