
काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि १६ गतेसम्म दल दर्ता गर्ने समय दिएको हो ।
राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।
प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि चितवन क्षेत्र नं २ मा उप–निर्वाचन हुन लागेको हो ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकामा चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ ।