मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित

काठमाडौं । सन् २०२२ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित भएका छन्।

आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै सन् २०२२ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको जनाएको हो।

सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित भएका थिए।

मानव अधिकार वर्ष पुस्तकमा सन् २०२२ मा राज्य पक्षबाट भएका मानव अधिकार उल्लंघनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना तथा अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ पुरुष र तीन जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको इन्सेकले जनाएको छ।

इन्सेकका अध्यक्ष कुन्दन अर्यालले मानव अधिकार उल्लंघन, ज्यादती र अपराधका घटनामा वृद्धि हुँदा सरकार नागरिकप्रतिको दायित्वमा सचेत हुनुपर्ने बताउनुभयो।

इन्सेकले वर्ष पुस्तकमा दलहरूको ध्यान सत्ता राजनीतिमा केन्द्रित हुँदा जनताको अधिकार संरक्षणमा सरकारले पूर्ण सफलता पाउन नसकेको प्रतिवेदनमा उल्लेख गरेको छ।

यस्तै, संक्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नुपर्नेमा सरकारको परिणाममूखी तदारुकता नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ। इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको छ।

Back to top button