प्रजातन्त्र दिवसमा आज उदयपुरका ४ कैदी रिहा

उदयपुर । ७३ औँ प्रजातन्त्र दिवसमा आज उदयपुरका ४ कैदी रिहा भएका छन्।

नेपाल सरकारको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफिमिनाह दिने व्यवस्था अनुरूप उदयपुरमा बहुविवाहका ३ जना र सवारी ज्यानका १ गरी ४ जना कैदी रिहा भएका हुन्।

यसरी रिहा हुनेहरूमा सवारी ज्यान मुद्दाका त्रियुगा नगरपालिका–८ का २९ वर्षीय विशाल खड्का र बाँकी ३ जना बहुविवाह मुद्दाका कटारी नगरपालिका–४ का ३५ वर्षीय वुद्धविर दनुवार, वडानं–७ का २७ वर्षीय सगुन दनुवार र चौदण्डिगढी नगरपालिका–९ का ४० वर्षीया कुश्मदेवी चौधरी रहेको प्रहरीले जनाएको छ ।

न्यूनतम ५० प्रतिशत कैदभुक्तान गरिसकेका कैदीलाई चालचलन राम्रो भएको खण्डमा जिल्ला कारागारको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले कारागार व्यवस्था विभागलाई सिफारिस गर्ने र विभागले गृह मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेस गर्ने कानुनी व्यवस्था छ।

यस्तै, चारै जना कैदीले ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेको र कारागारभित्र बस्दाको बखत चालचलनसमेत राम्रो देखिएकाले बाँकी कैद कट्टा (सजाय माफी) हुने गरी सिफारिस गरेअनुरूप रिहा भएको जेलर डिगमबहादुर कार्कीले बताउनुभयो।

Back to top button