खेलकुद महासंघको महाधिवेशनका एकजना प्रतिनिधिको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका– ५ बरगाछी नजिकै गएराती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी हुन आउनुभएका प्रकाश महतको मृत्यु भएको हो ।

आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा राती साढे ११ बजे दुर्घटनामा परी अर्घाखाँचीका प्रतिनिधि महतको मृत्यु भएको हो । अर्घाखाँचीका सन्धिखर्क नगरपालिका– ५ का २६ वर्षीय महत लु १८ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार हुनुहुन्थ्यो ।

बन्दशत्र सुरु भएको होटेल मनास्लुबाट निस्किएपछि विराटनगर – इटहरी सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गर्दा प्रदेश १– ०२०४२ प ६०४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका महतको विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ४८ वर्षीय विष्णु परियार गम्भीर घाइते हुनुभएको छ । उहाँको नोबेलमा उपचार भइरहेको छ ।

‘प्रदेश १ –०२०४२ प ६०४९ नम्बरको मोटरसाइकल चालकले मापसे सेवन गरेपछि तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको देखिएको छ,’ मोरङ ट्राफिक प्रमुख कार्कीले भन्नुभयो ।

ठक्कर दिने मोटरसाइकलका चालक विराटनगरका स्वयम अन्सारी रहेको प्रहरीले जनाएको छ । अन्सारी फरार रहेकाले खोजी भइरहेको र सोहि मोटरसाइकलमा सवार अर्का व्यक्तिलाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Back to top button