सुदूरपश्चिममा उपनिर्वाचन हुँदैन, यहाँको सरकार ५ वर्ष टिक्छ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा उपनिर्वाचन हुँनु नपर्ने र यहाँको सरकार ५ वर्ष नै निरन्तर चल्ने बताउनुभएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा उहाँले केही दिनमै विश्वासको मत लिने बताउनुभयो।

‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ’, उहाँले भन्नुभयो, सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ उपनिर्वाचन हुँदैन।’

यस्तै, उहाँले अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गर्नुभयो। ‘निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्। फेरि चुनावमा गए जनताले लखेट्छन्’, उहाँले भन्नुभयो।

पुष २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएको थियो। उहाँलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल पदमुक्त हुनुभएको थियो।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्‌को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले नेपाली कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्नेछ ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ।

Back to top button