ब्राजिलमा आएको भीषण बाढी पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु, २२८ परिवार घरबारबिहीन

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ सहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका,भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् ।

उक्त सहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा सहरमा पनि १ बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । साओ पाउलो सहरको उत्तरी तटीय क्षेत्रमा २ सय २८ जना घरबारविहीन भएका तथा ३ सय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीहरूले बाढीपहिरोमा हराएका तथा घाइते भएकाहरूका बारेमा जानकारी दिएका छैनन् ।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती ५ सहरमा आपत्काल घोषणा गर्नुभएको छ । साथै उहाँले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गर्नुभएको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रमण गर्नुभएको छ । उद्दार कार्य जारी रहेको छ।

यस्तै, जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ । गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस सहरमा २ सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

Back to top button