रास्वपाको बागमती प्रदेश सभापतिमा डा.लामिछाने

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने निर्वाचित हुनुभएको छ ।

आइतबार राति सम्पन्न निर्वाचनबाट उहाँ प्रतिस्पर्धी दिपक बिकले भन्दा ३१ बढी मत ल्याएर निर्वाचित हुनुभएको हो । कुल २७९ खसेको मत मध्ये लामिछानेले १ सय ५४ मत प्राप्त गर्नुभयो भने बिकले १ सय २३ मत प्राप्त गर्नुभएको थियो। २ मत बदर भएको थियो ।

हिजो रातिनै सभापतिका आकांक्षी ४ जनाबीच पहिलो चरणको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनमा दिपक बिकले १ सय २३, डा. अच्युतम लामिछानेले ९२, जिता बरालले ४६ र दिनेश हुमागाईले १७ मत प्राप्त गर्नुभएको थियो।

सभापतिका प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारहरु लामिछाने र बिकबीच प्रतिस्पर्धा भएको थियो ।

हिजो साँझ प्रदेश समितिमा ८ जना महिला र ३ जना पुरुषसहित ११ जना प्रत्यक्षतर्फबाट निर्वाचित भएपछि प्रदेश समितिले पूर्णता पाएको थियो । यसअघि नैं बागमती प्रदेशका ६६ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट १–१ जनाका दरले जिल्ला समितिले सिफारिस गरेका ६६ जना प्रदेश समिति सदस्यमा चयन भएका थिए । ३ जना मनोनित सदस्य सहित ८० जनाको प्रदेश समिति रहने रास्वपाले जनाएको छ ।

यसैगरि प्रदेश समितिले रास्वपा मकवानपुरको संयोजकमा भरत पराजुली र सहसंयोजकमा प्रकाश गौतमलाई जिम्मेवारी दिएको छ ।

यसअघि गएको पुष १७ गते रास्वपा केन्द्रीय समितिले मकवानपुर सभापति राजकुमार न्यौपानेलाई प्रतिनिधिसभा निर्वाचनको समयमा पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाही गरेको थियो ।

Back to top button