बुढीगंगामा एक महिलाको हत्या, २ जना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित अमाहीमा १ महिलाको रहस्यमय ढंगबाट हत्या भएको छ । भर्खरै प्रहरीले नर्सिङ चौधरीको घरबाट महिलाको शव फेला पारेको हो ।

स्थानीयवासी तथा पूर्व जनप्रतिनिधि मिना विश्वासले घटनाको बारेमा जानकारी दिनुभए अनुसार हिजो उक्त घरमा २ जना युवाहरु आएका थिए । केहि समयपछि चौधरीसँग चिनजान भएका अर्का १ व्यक्तिले मोटरसाइकलमा राखेर महिलालाई त्यहाँसम्म ल्याएर छोडेका थिए । महिलालाई लिएर आएका व्यक्ति र घरधनी चौधरी घर बाहिर निस्केपछि २ जना केटा र महिला घरमा थिए ।

१ घण्टापछि चौधरी घरमा आउँदा २ जना केटाहरु मात्रै भेटिएका थिए । उनीहरु गएपनि महिलालाई चौधरीले नभेटाएको दावी गर्दै आउनुभएको छ । तर, चौधरीको घर परिसरमै रहेको ग्वालीमा थुपारिएको पराल र भुसको थुप्रो भित्र बोरामा हालेको अवस्थामा महिलाको शव आज फेला परेको हो ।

यस्तै, घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक पोखरेलले घटनामा संलग्न आरोपमा २ जना पक्राउ परिसकेको जानकारी दिनुभयो ।

हालसम्म मृतक महिलाको नाम र पक्राउ परेकाहरुको नाम सार्वजानिक गरिएको छैन । प्रारम्भिक चरणको अनुसन्धानको काम अगाडी बढिसेकेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो। घटना रहस्यमय रहेको भन्दै प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

Back to top button