संसदको ध्यान प्रभावकारी ऐन कानुन निर्माणमा केन्द्रित हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको ध्यान अब प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा आयोगले आज ललितपुरमा गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अब प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ संसदले ध्यान दिनुपर्ने बताउनुभयो ।

संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले सरकारलाई गतिशिल बनाउन प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायी नहुने छुट नरहन् समेत उहाँले बताउनुभयो ।

आयोगले सिमित स्रोत साधनका बाबजुत धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समिति मात्रै नभइ फुल हाउसमा छलफल हुनुपर्ने सभामुख घिमिरेले बताउनुभयो ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले समावेशीताको बुझाइमा एकरुपता आवश्यक पर्ने बताउनुभयो । मुलुकमा बस्ने प्रत्येक व्यक्ति, समुदाय सबैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केहि समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशिता भन्न नमिल्ने बताउनुभयो ।

सामाजिक न्याय प्राप्तिका लागि सबै अवरोध हटाऔं र यसका अवसरहरूको उपयोग गरौं भन्ने नारासहित आज राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो ।

Back to top button