माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं । सत्तारुढ नेकपा मा‌ओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। आजको बैठकमा राष्ट्रपति निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

माओवादी केन्द्र आफूले उम्मेदवारी नदिने भएपनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास गरेको छ। तर राष्ट्रिय सहमतिको कुरा गर्दा गर्दै माओवादी नै सत्ताबाट बाहिरने सम्भावना पनि त्यतिकै छ।

राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवारको कुरा उठाएर एमालेलाई संशकित बनाएको माओवादी केन्द्रको हातबाट कांग्रेस पनि खुस्किन सक्छ।

हिजो नेपाली कांग्रेसका नेतासँगको छलफलमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको पदाधिकारी बैठकले राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने बताउनुभएको थियो।

यस्तै, बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले संविधानमा दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनानै नगरिएको बताउनुभयो।

उहाँले भन्नुभयो,‘दल विशेषलाई राष्ट्रपति बनाउन सकिँदैन। राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक हो। दलहरुको सिफारिस हुन्छ तर, साझा सहमति बन्न सक्ने व्यक्ति हुनुपर्छ। सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ। दलको क्यान्डिडेटलाई मान्न सकिँदैन।’

Back to top button