मुम्बईको कन्सर्टमा सेल्फी खिच्न नपाउदा सोनु निगममाथि आक्रमण

काठमाडौं । भारतीय गायक सोनु निगममाथि मुम्बईको एक सांगीतिक कार्यक्रममा आक्रमण भएको छ । गएराति मुम्बईको चेम्बुरमा आयोजित कन्सर्टमा सोनु र उहाँको टोलीमाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा सोनुको टोलीका एक व्यक्तिलाई स्टेजबाट तल धकेलिएको देख्न सकिन्छ । सोनुले प्रस्तुति दिइरहेको बेला शिव सेना पार्टीका एक विधायकले आक्रमण गरेको र उहाँका अंगरक्षकलाई सिंढीबाट तल धकेलेको समाचारमा जनाइएको छ ।

त्यसपछि घटनाबारे उजुरी दिन सोनु प्रहरी कार्यालयमा पुग्नुभएको थियो । त्यसपछि उहाँ मुम्बई विमानस्थलबाट दिल्ली आएको बताइएको छ ।

बलिउड हंगामाले भने आक्रमणपछि चोटपटक लागेकाले सोनुलाई अस्पताल पुर्‍याइएको जनाएको छ । ती विधायकका छोराले सोनुसँग सेल्फी खिच्ने इच्छा पूरा हुन नपाएपछि स्टेजमा आक्रमण गरेको खबरमा उल्लेख छ । सुरक्षा गार्डले स्थितिलाई नियन्त्रणमा ल्याउन प्रयास गर्दा अन्य केही घाइते भएका छन् ।

यस्तै, घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

Back to top button