दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइँदै

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दूध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।

गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भएपनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको देखियो,’ बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले भन्नुभयो,‘किसान बचाउनका लागि १० रुपैयाँसम्म मूल्य बढाउनु पर्ने देखियो ।’

चौधरीकाअनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको उहाँले बताउनुभयो ।

Back to top button