स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु राज्यको दायित्व हो : राष्ट्रपति भण्डारी

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ र सहज पहुँचमा पु¥याउनु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले आधुनिक समयमा विस्तार हुँदै गएको उपभोक्तावाद, मानिसको बदलिँदो जीवनशैली तथा तिव्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगको प्रकोप फैलिदै जानु चिन्ताको विषय भएको बताउनुभयो ।

उहाँले यसबाहेक विभिन्न समयमा अचानक देखापर्ने कोभिड–१९ जस्ता नयाँ रोगका साथै डेंगु र हैजा जस्ता महामारीको सामना गर्न सक्षम हुनेगरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने बताउनुभयो ।

‘जनताको स्वास्थ्यका निम्ति आधारभुत एवं विशेषज्ञ सेवा र सुविधाहरु सहजै उपलब्ध गराउन सकिनेगरि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं हेटौंडा अस्पतालको भवन निर्माण सम्पन्न हुनु खुसी र सन्तोषको विषय हो’, उहाँले भन्नुभयो, ‘नेपालको संविधानमा नागरिकका लागि सुनिश्चित गरिएका स्वास्थ्य सम्बन्धी हकको प्राप्तिमा यस प्रतिष्ठानले सघाउ पु¥याउनेमा विश्वस्त छु ।’

राष्ट्रपति भण्डारीले जनस्वास्थ्यको उच्चतम लक्ष्य हासिल गर्न जनताकै घरदैलोमा सामान्य औषधीमुलोदेखि आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा उपलब्ध गराउनु आवश्यक भएको बताउनुभयो। स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका लागि ठुलो मात्रामा विदेश पलायन भैरहेको पुँजीलाई रोक्न, स्वदेशमै गुणस्तरीय सेवा तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा प्रतिष्ठानले महत्वपुर्ण योगदान पुर्‍याउने राष्ट्रपतिको अपेक्षा छ ।

सो कार्यक्रममा प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रतिष्ठानको स्थापनालाई प्रदेशकै गौरवको आयोजनाको रुपमा अगाडि बढाएर सफल बनाइएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले प्रदेशकमा ११९ वटै पालिकामा स्वास्थ्य अवस्थाको अध्ययन गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सामान्य औषधी उपचार गर्न पनि गाउँ–गाउँबाट मानिसहरु शहरमा झर्नुपर्ने अवस्था छ । हामी यो अवस्था अन्त्य गर्छौं ।’

पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले लामो मेहेनत, प्रहार र अवरोधकाबीच प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालको नयाँ भवन निर्माण गर्न सफल भएको बताउनुभयो । उहाँले रेफर अस्पतालको रुपमा रहेको हेटौंडा अस्पतालको पहिचान फेरिएको उल्लेख गर्नुभयो ।

यस्तै, सहकुलपति तथा प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले हेटौंडा अस्पतालको सेवा विस्तार सँगै स्वास्थ्य सेवासँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन समेत हुने बताउनुभयो । उहाँले यहाँबाट उत्पादित जनशक्तिले दुर्गम गाउँमा गएर बिरामीको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले प्रतिष्ठानको स्थापनासँगै अस्पतालबाट प्राप्त स्वास्थ्य सेवाबाट राहत मिलेको बताउनुभयो। उहाँले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका मकवानपुरवासीको लागि अस्पतालको सेवा विस्तार गौरवको विषय भएको उल्लेख गर्नुभयो । मेयर लामाले स्वास्थ्य सेवा प्रबद्र्धनका लागि प्रतिष्ठानलाई हरतरहको सहयोग गर्ने बताउनुभयो ।

२०७६ साल असोज २ गते प्रदेशस्तरमै पहिलोपटक बागमती प्रदेशको राजधानी हेटौंडामा प्रतिष्ठानको स्थापना भएको थियो ।

राष्ट्रपति भण्डारीले उद्घाटन गरेको हेटौंडा अस्पतालको नवनिर्मित भवन ३५ करोड ३२ लाखमा निर्माण भएको थियो । नयाँ भवन ७० शय्या क्षमताको छ । नयाँ र पुरानो भवनमा गरि अस्पतालको २०० शय्या क्षमता रहेको उहाँले बताउनुभयो ।

अस्पतालको सेवा विस्तारका लागि ६ तले नयाँ भवन समेत निर्माण भैरहेको छ । यो भवन निर्माण सम्पन्न भएपछि ५ सय शय्याको अस्पताल हुने पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले बताउनुभयो ।

अस्पतालमा अहिले ३८ जना बिशेषज्ञ चिकित्सक र ५० जना मेडिकल अधिकृतसहित ३ सय ८७ जना कर्मचारी कार्यरत छन् । अस्पतालबाट दैनिक सरदर ७ सय ५० जनाले बहिरंग सेवा प्राप्त गरिरहेका छन् । २०१६ सालमा १५ शय्यासहित हेटौंडा अस्पतालको स्थापना भएको थियो ।

Back to top button