राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जना मतदाता रहने

काठमाडौं । राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जना मतदाता रहने भएका छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८ सय ८१ जनाको नाम रहेको छ ।

प्रतिनिधिसभा सदस्य २ सय ७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५ सय ५० गरी राष्ट्रपति निर्वाचनमा ८ सय ८४ जनाले मतदान गर्न पाउनेछन् । तर यस पटकको राष्ट्रपति निर्वाचनमा ३ जना मतदाता कम हुनुसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

‘राष्ट्रपति निर्वाचनमा ३ जना मतदाता कम हुन सक्छन् । त्यसबारे आयोगले भोलि निर्णय गरेर सार्वजनिक गर्छ’, प्रवक्ता पौडेलले भन्नुभयो ।

प्रतिनिधिसभाका २ सय ७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउनुहुने छैन् । अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन ।

तथापि, महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा आयोग निर्णयमा पुगेको छैन ।

प्रतिनिधिसभा नियमावली २०७९ राष्ट्रपतिको निर्वाचन अगाडि नै पारित भएको खण्डमा उहाँले मतदानमा भाग लिन पाउनुहुने छैन् । नयाँ नियमावलीमा कैद भुक्तान गर्नुपर्ने भनी अदालतबाट फैसला भएको र फरार रहेका सांसद निलम्बनमा पर्ने व्यवस्था छ ।

राष्ट्रपति निर्वाचन तालिका अनुसार आयोगले भोलि मतदाता नामावली प्रकाशन गर्नेछ । त्यसपछि दाबी, विरोध र उजुरीका काम हुनेछन् । उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुनेछ । अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्न आयोगको कार्यतालिका छ ।

राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ । २५ गते निर्वाचन हुनेछ ।

राष्ट्रपतिको निर्वाचन बानेश्वरस्थित संघीय संसद भवनमा हुनेछ । आयोगले यहाँ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याल निर्वाचन अधिकृत तोकिनुभएको छ ।

Back to top button