स्कटल्याण्ड विरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । कप्तान रोहित पौडेलेको उत्कृष्ट प्रदर्शनका कारण नेपालले त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा च्याम्पियन स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिनुभएका रोहितले १ सय १ बलमा ७ चौका र ४ छक्कासहित अविजित रहँदै ९५ रनको महत्त्वपूर्ण इनिङ खेल्नुभयो।

नेपालले ४४ दशमलव १ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । रोहित र करण केसीले नवौं विकेटका लागि ७५ रनको ऐतिहासिक साझेदारी गर्दै नेपाललाई रोमाञ्चक जित दिलाउन सफल हुनुभएको हो ।

रोहित र करणको नवौं विकेटका लागि साझेदारी गरेको सर्वाधिक ठूलो साझेदारी हो। यसअघि यो कीर्तिमान सोमपाल कामी र सन्दीप लामिछानेको नाममा थियो। उहाँहरूले नेदरल्यान्ड्सविरुद्ध सन् २०१८ मा ४१ रनको साझेदारी गर्नुभएको थियो ।

यस्तै, करणले ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रनको इनिङ खेल्नुभएको छ । नेपालका ओपनरद्वय कुशल भुर्तेल १ तथा आसिफ शेख १२ रन जोडेर आउट हुँदा ज्ञानेन्द्र मल्ल २१ रन जोडेर पेभेलियन पर्खनुपरेको थियो ।

यस्तै, कुशल मल्ल १७, सन्दीप जोरा १, दीपेन्द्रसिंह ऐरी ७ र सोमपाल कामी २ रन बनाएर आउट हुनुभयो । सन्दीप लामिछाने ९ रनमा पेभेलियन फर्र्कीनुभयो । स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ३ विकेट लिनुभएको छ भने क्रिस ग्रिभिसले २ तथा ब्रान्डोन म्याकमुलेन, सफ्यान शरिफ र माइकल लिस्कले १–१ विकेट लिनुभयो ।

पहिलो इनिङमा जर्ज मन्जीको अर्धशतकप्रेरित स्कटल्यान्डले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रनको योगफल तयार गरेको थियो । नेपालको कसिलो बलिङसामू संघर्षरत स्कटल्यान्डले पहिलो विकेटका लागि ४२ रनको साझेदारी पाएको थियो। तर त्यसपछि लामो साझेदारी गर्न नसकेको स्कटल्यान्डले ठूलो योगफल बनाउन सकेन ।

स्कटल्यान्डका लागि ५० बलको सामना गरेका मन्जीले ९ चौका र २ छक्कासहित ६० रनको इनिङ खेल्नुभयो । यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रनुभएका विकेटकिपर–ब्याटर म्याथ्यु क्रसले ६३ बलमा ४ चौका र १ छक्कासहित ४२ रन जोड्नुभएको थियो ।

त्यसबाहेक, ब्रान्डोन म्याकमुलेनले ३१, काइल कोइट्जरले २२ र क्रिस्टोफर म्याकब्राइडले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक ४ विकेट लिनुभयो ।

यस्तै, ९ दशमलव१ ओभरमा ४२ रन खर्चिएका करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्ले १–१ विकेट लिनुभयो ।

Back to top button