सदनमा वादविवाद गर्न दिइने छैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरिले प्रतिनिधिसभाको बैठकमा वाद प्रतिवादमा नउत्रिन सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई लिएर एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाका सांसदहरु एक अर्कोको भनाइप्रति प्रतिवादमा उत्रन थालेपछि सभामुख घिमिरेले सदनमा दोहोरो संवाद गर्न नदिइने बताउनुभएको हो ।

विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) की सांसद सुशीला श्रेष्ठले गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको थियो । ‘फागुन ७ गते जुन अभिव्यक्ति आएको छ त्यसमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

वर्तमान व्यवस्थाप्रति ठाडो आक्रमण गर्ने प्रबृति निन्दनीय छ’ ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै उहाँले भन्नुभयो ।

त्यसपछि सांसद श्रेष्ठले पूर्वराजा शाहको भनाइको तोडमोड गरेको भन्दै राप्रपा महामन्त्रीसमेत रहनुभएका संसद धवलशमशेर राणाले प्रतिवाद गर्नुभयो । ‘पूर्व राजाले बोलेको कुरालाई अलिकति तोडेमोडेर आएको छ ।

पूर्वराजाले भनेको कुरा सकारात्मक हो । सबै पार्टीहरु र राजसंस्थाले मिलेर यो देशलाई उभो लगाउँ भन्ने कुरा उहाँले गर्नुभएको हो’ राणाले भन्नुभयो । राप्रपाका सांसद जबराले पूर्वराजा शाहले वर्तमान व्यवस्थाप्रति कुनै आपत्तिको कुरा नगरेको पनि जिकिर गर्नुभयो ।

सांसद राणाले पूर्वराजाको बचाउ गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेकपा एमालेका सांसद रघुजी पन्तले उठेर राप्रपा सांसद जबराको भनाइको प्रतिवाद गर्न खोज्नुभएको थियो ।

‘उहाँ (धवल शमशेर जबरा) ले यहाँ जे कुरा राख्नुभयो । त्यसप्रति हाम्रा केही भनाइहरु छन्, हाम्रा केही रायहरु छन् । समय चाहियो’ भन्दै सांसद पन्तले हात उठाएर सभामुखसँग समय माग्नुभयो । माओवादी सांसद पाण्डेले पनि हात उठाएर सभामुखसँग समय मागिरहनुभयो । तर, सभामुख घिमिरेले दुबै जनालाई बोल्न समय दिनुभएन् । बरु उहाँले सदनमा दोहोरो प्रतिवाद गर्न नदिइने बताउनुभयो ।

‘आफ्नो अभिव्यक्तिलाई बोल्न दिनुपर्छ । यसरी यहाँ दोहोरो डिसकसहरु गर्न दिइने छैन’, सभामुख घिमिरेले थग्नुभएको छ, ‘सबै माननीय सदस्यहरु बस्नुस् । आफूलाई लागेका कुराहरु व्यवस्थाभित्र बसेर अभिव्यक्ति दिने व्यवस्था गरिएको छ ।’

समय नपाएपछि सांसदहरु बसे । सदनको कारबाही अगाडि बढ्यो ।

Back to top button