राष्ट्रपतिबारे प्रचण्ड र देउवाबीच छलफल

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्‍ड’सँग भेटवार्ता गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा बालुवाटार पुग्नुभएको हो ।

भेटमा राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ। भेटका क्रममा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने संभावित व्यक्तिको बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ। हिजो बेलुका पनि प्रधानमन्त्रीसँग सभापति देउवासहितका कांग्रेसका नेताहरूले राष्ट्रपति चयनका विषयमा छलफल गरेका थिए।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गर्नुभएको थियो।

पुष ११ गते प्रधानमन्त्री बन्नुभएका दिन प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति गर्नुभएको थियो। तर, सरकारलाई कांग्रेसले समर्थन दिएकाले कांग्रेसको समेत सहमतिमा राष्ट्रपति बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले अडान राख्दै आउनुभएको छ ।

दलहरूका आ–आफ्नै अडानका कारण राष्ट्रपति उम्मेवारबारे अझैं टुंगो लाग्नसकेको छैन्। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यतालिका छ।

Back to top button