सरकारले जनयुद्ध दिवसमा बिदा दिनु दु:खद निर्णय : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिंसा दिवस (जनयुद्ध दिवस)लाई राष्ट्रिय दिवस मनाएको भन्दै आपत्ती जनाउनुभएको छ ।

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हिंसा टुंगिएको भएपनि केही व्यक्तिमा हिंसाको धङधङी देखिनु दुःखद पक्ष भएको टिप्पणी गर्नुभयो।

अध्यक्ष ओलीले सरकारले जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिएर दुःखद निर्णय गरेको बताउनुभयो। हिंसा दिवसमा सार्वजनिक बिदा दिनु गत प्रवत्ति भएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो,‘हिं‌सा टुंगिएको थियो। तर हिंसाको धङधङी अझै पनि छ जस्तो देखिन्छ कतिपय मानिसको क्रियाकलापमा। अहिलेको सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर त्यसलाई फेरि पनि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद निर्णय गर्यो। यसले हिंसाको मानसिकता हिंसाप्रति गर्व गर्ने प्रवृति नदेखिन्छ।’

नेपाल हिंसाको पक्षमा नरहेको भन्दै उहाँले आन्तरिक द्वन्द्व र आन्तरिक कलह नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभयो।

‘आफैले छोडेर त्यो बाटो शान्ति प्रक्रियामा आइसकेपछि किन त्यसको महिमामण्डन गर्नुपर्यो,’अध्यक्ष ओलीले भन्नुभयो,‘यसले संझीसंझीकन हिंसाप्रतिको पुरानो लगाव संयोगजस्तो मात्र लाग्छ मलाई।’

यस्तै, सरकारले जनयुद्ध दिवसका अवसरमा फागन १ गते सार्वजनिक बिदा दिएको थियो। सो बिदा आगामी दिनमा पनि मनाउने गरी सरकारी क्यालेन्डरमा समेट्ने निर्णय भइसकेको छ।

Back to top button