पहिलो नेपाली रक गायक खड्काको निधन

काठमाडौं । नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा आज ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ । खड्काको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंनेछ ।

वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उहाँको स्टेज नाम चाहिं माइक खड्का हो ।

निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताउनुभएको छ । खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने गरिएको जानकारी समेत उहाँले दिनुभयो ।

नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञाता समेत रहनुभएका खड्काले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिक्नुभएको थियो।

गायक ओमविक्रम विष्ट, अरुण थापा र दिव्य खालिङसँग उहाँले सहकार्य गर्नुभएको थियो। केही अंग्रेजी गीतको रेकर्ड गराएपनि उहाँले एल्बम भने सार्वजनिक गर्न पाउनुभएन् । मुलुकको पुरानो सांगीतिक ब्याण्ड मानिने फ्रिडमसँग पनि उहाँले सहकार्य गर्नुभएको थियो।

यस्तै, पछिल्लो समय उहाँ संगीतसम्बन्धी पुस्तक लेखनको तयारीमा हुनुहुन्थ्यो । उहाँ क्लासिक एफएमको निर्देशक समेत हुनुहुन्थ्यो। सोही एफएममा उहाँले कार्यक्रम पनि चलाउँदै आउनुभएको थियो। खड्काका पत्नी र एक छोरा छन् ।

Back to top button