
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा माथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ ।
आज काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित राष्ट्रिय सेवा दलको १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको र युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको हो ।
सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवालाई मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उहाँको बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डले देशभित्र विद्यमान विविध भाषा,संस्कृति,भेषभुषा एवं विशेषताहरूको जानकारीले युवाहरूलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रिय एकताको भावनामा थप प्रतिवद्धताको विकास हुने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय सेवा दलको प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले हाल विद्यमान ७७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या विस्तार गर्नुपर्ने आवश्यकताप्रति सरकार गम्भीर रहेको धारणा राख्नुभयो।
यस्तै, दीक्षान्त समारोहमा विभिन्न कवाज,कला प्रस्तुत गरिएको थियो । युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले विसं २०२२ सालमा राष्ट्रिय सेवा दल स्थापना भएको थियो ।
यस वर्ष जुनियर डिभिजन अन्तर्गत ५ हजार ९ सय ७६ जना र सिनियर डिभिजन अन्तर्गत १ हजार ७ सय २८ जना गरी कुल जम्मा ७ हजार ५ सय ६८ जना छात्र छात्राहरूले राष्ट्रिय सेवा दलको तालिम गरेका छन् ।