
काठमाडौं । नेकपा एमालेको वर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप २०२३ नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
प्रसिद्ध म्याराथन धावक बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यमा आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको उद्घाटन भएको हो ।
उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली, रक्षामन्त्री हरिप्रसाद उप्रेती, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, पूर्व सभामुख सुवास नेम्वाङ, राष्ट्रिय युवा संघका अध्यक्ष किरण नेपाल लगायतका नेताको उपस्थिति रहेको थियो ।
नकआउटका आधारमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन् । एमाले अध्यक्ष ओलीले रेफ्रीलाई ‘गेम बल’ दिएसँगै आज प्रतियोगिताको प्रथम खेल सुरु भएको हो ।
यस्तै, उद्घाटन खेल आज नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच भइरहेको छ ।