
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
हिजो दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर बधाइ दिनुका साथै उहाँले पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो ।
खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भन्नुभयो,‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ।
यो देशकै गौरव हो। तपाईंको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईंहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।’
यस्तै, त्यस अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।