प्रदेश सरकारमाथि अन्याय भईरहेको छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारमाथि अन्याय भईरहेको बताउनुभएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवन उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार मात्रै अनावश्यक भएको जस्तो गरेर चर्चा हुने गरेको बताउनुभएको हो ।

‘प्रदेश सरकारमाथि अन्याय भईरहेको छ’ मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘गाडी दुर्घटना भए प्रदेश सरकार खारेज हुनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिन्छ ।’

उहाँले तीन तहका सरकार भएपनि नागरिकले स्थापीत हुँदै गरेको प्रदेश संरचनाप्रति अमर्यादित तरिकाले प्रतिक्रिया आउने गरेको बताउनुभयो ।

प्रदेश सरकारले छोटो अवधीमा समेत धेरै काम गरेको दावी गर्दै मुख्यमन्त्री कार्कीले सहयोग गर्दा मात्रै त्यसको प्रतिफल अझै आउनसक्ने आश्वस्त पार्नुभयो । उहाँले संघीय प्रहरी ऐन, संघीय निजामती ऐन, शिक्षा ऐन अझैसम्म नबनेको बताउँदै संविधानले तोकेका अधिकार अझैसम्म प्रदेशमा नआएको बताउनुभयो ।

यस विषयमा संघीय सरकारसँग छलफल र बहस भइरहेको बताउँदै उहाँले हस्तान्तरण भएर आउनु पर्ने अधिकार प्रयोग गर्न पाए प्रदेश सरकार सबैभन्दा सवल र आवश्यक संरचनाको रुपमा नागरिकको भरोसा हुने दावी गर्नुभयो ।

‘कयौँ क्षेत्रमा हस्तान्तरणका प्रक्रिया पुरा भएको छैन, पाँच वर्षमा प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकार पाईसकेको छैन’ मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘बजेट दिने कुरामा पनि कन्जुस्याँई हुने गरेको छ ।’

यस्तै, भवन निर्माणका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयलबाट मूल्य अभिबृद्धिसहित १९ करोड १४ लाख १ हजार ६ सय ६३ रुपिँया बजेट खर्च भएको थियो । ३ हजार ३ सय ४१ वर्गफिटमा बनेको पाँच तले भवनमा ७५ वटा कोठा रहेका छन् । प्रदेश प्रहरी कार्यालय परिसरमा १६ बिघा १४ कठ्ठा १३ धुर जग्गा छ ।

Back to top button