युएई भ्रमणका लागि सन्दिप बाहेकको नेपाली टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएई भ्रमणका लागि सन्दिप लामिछाने बाहेकको १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली क्रिकेट समर्थकहरूले सन्दीपलाई युएई लैजान दबाब दिएका थिए। क्यानले पनि त्यसको पहल गरे पनि अन्तिम समयमा त्यो हुन नसकेको बताइएको छ।

नाबालिक बलात्कार मुद्दा खेपिरहनुभएका सन्दीप २० लाख धरौटी तिरेर रिहाइ हुनुभएको थियो। अदालतले विदेश जान नपाउनेगरी फैसला सुनाएको थियो।

क्यानले रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम(मौसम) ढकाललाई टिममा समेटेको छ। प्रतिश र श्याम पहिलोपटक राष्ट्रिय टिममा आबद्ध हुनुभएको छ ।

Back to top button