प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो।

पाँच दलीय पुरानै गठबन्धन ब्युँताउने कसरत भइरहेका बेला उनीहरूबीच छलफल भएको हो। छलफलमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो।

छोटो समय भएको भेटघाटमा जसपा अध्यक्ष यादले उपराष्ट्रपतिको अडानलाई दोहोर्‍याउनुभएको थियो। उहाँले उपराष्ट्रपति दिने भएमात्रै गठबन्धन र सरकारमा सहभागी हुने अडान लिएको स्रोतले बताएको छ।

‘हाम्रो पार्टीको स्पष्ट माग उपराष्ट्रपति हो। उपराष्ट्रपति पाएमात्रै हामी गठबन्धन ब्युँताउने कुरामा होस् या सरकारमा सहभागी हुने कुरामा होस्, सहभागी हुनेछौं। त्यसबाहेक कुरामा हाम्रो समर्थन रहने छैन,’ जसपाका एक नेताले बताए।

बैठकमा हिजो साँझ बालुवाटारमा भएको वार्ताका विषयमा पनि चर्चा भएको स्रोतको भनाइ छ।

मन्त्रिपरिषद् बैठक बस्ने भएकाले पछि फेरि छलफल गर्नेगरी उहाँहरूको छोटो छलफल भएको थियो।

Back to top button