राष्ट्रपति निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने: यस्तो छ मतभार

काठमाडौं । राष्ट्रपति निर्वाचनको लागि निर्वाचन कार्यालयले आज मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ। आज अन्तिम नामावली सार्वजनिक र भोली मनोनयन दर्ताको समय तोकिएको छ ।

राष्ट्रपति पदको निर्वाचनका लागि कुल मतदाता ८ सय ८२ जना हुनेछन् । संघीय संसदका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० सहित कुल मतदाता ८ सय ८२ जना हुने भएका छन् । संघीय संसद सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

२०७८ को जनगणनाको अन्तिम विवरण सार्वजनिक नभएका कारण निर्वाचन आयोगले २०६८ कै जनगणनाका आधारमा मत भार तय गरेको हो।

संघीय संसदको सबैभन्दा ठूलो दल कांग्रेसका २ सय ७३ मतदाता छन् । राष्ट्रपतिमा कांग्रेसको मतभार १६ हजार १ सय ४२ छ। यस्तै दोस्रो ठूलो दल नेकपा एमालेका संघ र प्रदेशमा गरी २ सय ५६ मतदाता छन् । उसको मतभार १५ हजार २ सय ३३ छ।

संघ र प्रदेशमा गरी १ सय २९ मतदाता रहेको नेकपा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ४९ छ । एकीकृत समाजवादीको मतभार २ हजार ५ सय ७४ छ भने जसपाको २ हजार १ सय ४५ मतभार छ।

राप्रपाको २ हजार ४ सय ५०, राष्ट्रिय स्वतन्त्र पार्टीको १५ सय १, जनमत पार्टीको १ हजार २ सय ४२ र लोसपाको ९ सय ७१ मतभार छ। यस्तै नागरिक उन्मुक्ति पार्टीको ८ सय १३, जनमोर्चाको २ सय ६, नेमकिपाको २ सय २३, हाम्रो नेपाली पार्टीको ९६, नेपाल संघीय समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको ४८–४८ मतभार छ।

यस्तै संघ र प्रदेशमा रहेका १८ स्वतन्त्र सांसदको मतभार १ हजार ५० छ भने राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित ३ जना सांसदको २ सय ३७ मतभार छ। कुल मतभार ५२ हजार ६ सय २८ रहेकोमा राष्ट्रपतिमा निर्वाचित हुन बहुमत अर्थात् २६ हजार ३ सय १५ मत ल्याउनुपर्ने हुन्छ।

Back to top button