सरकारी कार्यालयभित्रका सवारी साधनको उचित व्यवस्थापन गर्न सांसद सिंहको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारी कार्यालयभित्रका सवारी साधनको उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद सिंहले भन्नुभयो,‘नेपाल अधिकांश सरकारी कार्यालय परिसरमा र प्रहरी चौकीमा करोडौँ मूल्यका सवारीसाधन थन्किएका छन्। यी साधनलाई किन लथालिंग पारेर राख्नुपर्‍यो? उचित रुपले बेचबिखन गर्न सके करोडौँको सामान नास हुने थिएन।’

उहाँले भन्नुभयो,‘काठमाडौंलगायत देशभरका सरकारी तथा प्रहरी कार्यालय परिसरमा सयौं मोटरसाइकल गाडिहरु थन्क्याएर राखिएको छ। वर्षौंसम्म यसरी थन्क्याइँदा ती प्रयोगविहीन भएका छन् ।

ती सवारी साधनहरु लैजान भनेर सूचना जारी गर्दा पनि सवारी धनीहरुले किन लगेनन् । सवारी धनीले लग्दैनन् भने लिलामी गर्नुपर्ने होला । यसरी अस्तव्यस्त बनाएर छाड्दा ती करोडौंका सामान कवाडीमा परिणत बनेका त छन् नै, तिनले सफा शहर बनाउने अभियानमा पनि चुनौती थपेका छन्।’

उहाँले सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो,‘सामान्य मर्मत गर्दा पनि चल्ने गाडीहरु पनि मर्मत नगरी थन्काउने र नयाँ गाडी चढ्ने लोभमा अर्बौं रुपैयाँ नयाँ सवारीसाधन खरिदमा खर्च गर्ने काम भैरहेको छ ।

यसको समस्या समाधान गरिनुपर्छ । पुराना थोत्रा गाडीहरुको व्यवस्थापनमा कानुनी अप्ठ्यारा छन् भने त्यसमा के सुधार गर्नुपर्छ, गर्नुपर्यो । तर करोडौं मूल्यका गाडी मोटरसाइकल उपयोगविहीन बनाएर वातावरण समेत अस्तव्यस्त नबनाऔं । यसबारे गम्भीरतापूर्वक ध्यान दिन म सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

Back to top button