प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सिटीइभीटी) को ३५औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताउनुभयो।

उहाँले भन्नुभयो,‘देशलाई सीपयुक्त जनशक्ति आवश्यक छ, त्यसैले सरकारले बजेटमा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ, सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको छ।’

हातमा सीप भएका जनशक्ति नेपालमा धेरै रहेको चर्चा गर्दै उहाँले पढाइलाई मात्रै नभइ अनौपचारिक शिक्षाका रूपमा हातमा सीप भएका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले देशका सबै युवालाई हातमा सीप दिएर दक्ष जनशक्ति बनाएर रोजगारी सिर्जना गर्नुपर्ने औँल्याउनुभयो।

सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको जनाउँदै देश संघीयतामा गएपनि शिक्षा ऐन भने पुरानै भएकाले छिट्टै शिक्षा ऐन ल्याउन सरकार लागेको मन्त्री शर्माले बताउनुभयो।

नेपालको जनशक्ति धमाधम बाहिरिँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै बसेर पनि आम्दानी गर्नसक्ने भएकाले शिक्षाका अगुवाले विदेशिनुको कारण खोज्नुपर्ने बताउनुभयो।

Back to top button