फागुन १५ मा सार्वजनिक विदा दिन मगर समुदायको माग

लुम्बिनी । मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिन माग गरेको छ ।

फागुन १५ गते मगर संघ स्थापना तथा मगर एकता दिवस भएकाले उक्त दिन देशभर सार्वजनिक विदा दिन माग गरिएको हो ।

नेपाल मगर संघ बुटवलले आज बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा र नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको संघकी अध्यक्ष बसन्ती साठीघरेले गुनासो गर्नुभयो।

२०६८ को जनगणना अनुसार देशभर मगर समुदायको जनसंख्या १९ लाख रहेपनि मगर संघले ३० लाख मगर रहेको दावी गर्दै आएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा संघले सार्वजनिक विदा माग गर्दै आएको उहाँले बताउनुभयो ।

उहाँले फागुन १५ मा सार्वजनिक विदा, मगर समुदायको भाषा,संस्कृति संरक्षणमा उचित वजेट र आई.एल.ओ.१६९ लगायत अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग समेत गर्नुभयो ।

मगर समुदायको आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रितिरिवाज मात्रै नभई आफ्नै ऐतिहासिक भूमि र क्षेत्र रहेकाले आफैमा समृद्ध जाति हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण यो समुदायको हरेक पक्षमा राज्य स्तरबाटै नकारात्मक प्रहार हुँदै आइरहेको अध्यक्ष साठीघरेले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै जनसंख्या मगरको भएकाले प्रदेशमा मगर भाषालाई पनि सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने संघका प्रदेश सदस्य गोपाल चौहानले माग गर्नुभयो ।

स्थापना दिवसको अवसरमा संघले फागुन १३ गते अपाङ्ग आश्रममा फलपूmल तथा खद्यान्न वितरण र १५ गते भेषभुषाको झाँकी सहित बृहत ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित मूल समारोह गरिने संघका सचिव हेमन्त बुढाथोकीले बताउनुभयो ।

Back to top button