एमालेले राष्ट्रपति निर्वाचन अधि सरकार नछाड्ने

काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ ।

हिजो साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट आज एमालेले सचिवालय बैठक बोलाएको थियो । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेको छ ।

‘अस्थिर हुुनुभयो, बाहृय दबाब थेग्न सक्नु भएन र प्रगतिशील गठबन्धनलाई छाडेर दक्षिणपन्थी गठबन्धनतिर लाग्नुभयो,’ बैठकको निष्कर्ष सुनाउँदै एमालेका एक पदाधिकारीले भने ।

यद्यपि एमालेले १० पुषमा बनेको गठबन्धन तोडिएको घोषणा गरेन, बरु त्यो सहमतिअनुसार नै अघि बढ्ने भन्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

‘सुबासजीको उम्मेदवारी पुष १० को निरन्तरता हो,’ एक पदाधिकारी भने,‘१० गते प्रचण्डलाई प्रधानमन्त्री नियुक्ति गर्ने हस्ताक्षर गर्ने दल र मतदानताहरु कायम रहन्छ भन्ने हाम्रो विश्वास छ ।’

गत १० पुषमा एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नाउपाको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुभएको थियो । त्यो बेला राष्ट्रपति एमालेले लिने सहमति पनि भएको थियो ।

तर माओवादीसँगै जसपा, जनमत र नाउपा हिजो बसेको ८ दलको गठबन्धनमा छन् । र, कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका छन् ।

एमालेले भने आफ्नो उम्मेदवार नेम्वाङका लागि राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाएको नेपाली कांग्रेस बाहेक सबै दलको समर्थन खोज्ने बताएको छ । बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भन्नुभयो,‘हिजोको निर्णयले थोरै तलमाथि भएको छ, तर २५ गतेसम्म धेरै कुरा पाक्छ होला ।’

Back to top button