राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता गर्न एमाले संसद् भवनमा

काठमाडौं । नेकपा एमाले राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता गर्न संसद् भवन नयाँ बानेश्वर पुगेको छ। निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली उम्मेदवार दर्ता गर्न पुगेको हो।

एमाले पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो।

यस्तै, नेम्वाङ संविधान सभाको अध्यक्षसमेत हो । सत्ता साझेदार दलहरूबीच वर्तमान सरकार गठनको समयमा गत २०७९ पुष १० गते भएको सहमति बमोजिम पार्टीले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्बा गुरुङले बताउनुभयो।

बैठकले पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै राजनीतिक दलसँग सहयोगका लागि आह्वान गर्दै समर्थनका लागि पहल गर्ने निर्णय गरेको छ।

Back to top button