
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा परेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ। पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएपनि उहाँलाई विदेश भ्रमणको अनुमति दिएको छैन।
सन्दीपले आफूलाई विदेश भ्रमणमा लगाइएको प्रतिवन्द फुकुवा गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन गराउनुभएको छ । सन्दीपलाई धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेशविरूद्ध सरकारी वकिल कार्यालयले सर्वोच्चमा रिट दिएको छ।
उहाँलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने महान्यायाधीवक्ता कार्यालयको माग छ। महान्यायाधिवक्ता कार्यालय र सन्दीपको निवेदन एकैसाथ राखेर आज सुनुवाइ हुन लागेको हो।
उहाँले विश्वकप लिग–२ अन्तर्गतको खेलमा सहभागी हुन पाउँ भन्दै गत बिहीबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले पनि सन्दीप टिमको महत्पूर्ण खेलाडी रहेको र विदेश लैजाने र ल्याउने जिम्मा आफूहरूले लिने भन्दै सर्वोच्च अदालतसमक्ष अपील गरेको थियो।
शुक्रबार सो मु्द्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई युएई भ्रमणमा सहभागी हुन नपाउने अनुमति दिएको थियो ।
उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो। नाबालिग बलात्कार अभियोग लागेको उहाँलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो।