सवारी दुर्घटनामा परी पत्रकार हितंगाको मृत्यु

बुटवल । बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा परी रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।

गएराति करिब सवा ११ बजे लु८प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गर्नुभएका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले बसपार्क नजिक ठक्कर दिएको थियो ।

बसको ठक्करपछि घाइते हुनुभएका उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

हितंगा एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत हुनुहुन्थ्यो । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उहाँ करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आउनुभएको थियो।

Back to top button