महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने आज जानकारी दिएको हो ।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले नाम फिर्ता लिएकोले यस समूहमा तीन वटा टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नुपर्नेछ ।

छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ अर्थात चैत २० देखि २८ गतेसम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् ।

उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया भने सिधै दोस्रो चरणमा खेल्नेछन् । यी पाँच टिम र पहिलो चरणका ७ गरी १२ टिमलाई दोस्रो चरणमा तीन समूहमा विभाजन गरिनेछ ।

तीन समूहको विजेता र एवम् उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्नेछन् । त्यसबाट शीर्ष दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ । नेपालले ओलम्पिक तयारी अन्तर्गत भारतसँग चेन्नाईमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेल बराबरीमा सकिएको थियो ।

Back to top button