
काठमाडौं । अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ ।
बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे २ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उहाँले उच्च अदालतमा पुनरावेदन गराउनुभएको थियो।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा अहिले शाहका वकिलहरुले बहस गरिरहेका छन् । सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने सम्भावना रहेको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।
यस्तै, एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिएपनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिएको थियो ।
नवलपुर अदालतको फैसलाअनुसार अहिले शाह तनहुँ कारागारमा जेल सजाय बिताइरहनुभएको छ । नाबालिकालाई बलात्कार गरेको आरोपमा गत फागुन ११ गते उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवपरासी पूर्व (नवलपुर)मा शाहविरुद्ध उजुरी दिएका थिए ।
त्यसपछि फरार रहनुभएका शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गर्नुभएको थियो।