
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक–खण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आज एक सूचना जारी गर्दै मुग्लिन पोखरा सडक विस्तारको काम अगाडि बढिरहेको बेला उक्त खण्डमा विस्तारको काम छिटो छरितो रुपमा गर्न १० दिनसम्म दिनको ४ घण्टा बन्द गर्ने भएको हो ।
मुग्लिन पोखरा योजना पूर्व खण्डबाट अनुरोध भइआएकाले सडक बन्द गरी निर्माण कार्य अगाडि बढाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरैले जानकारी दिनुभयो ।
राजमार्ग विस्तारका क्रममा ठुलो मात्रामा ब्लक कटिङको कार्य गर्नुपर्ने भएकाले मनसुन सुरु हुनु अगावै कटिङको काम सम्पन्न गर्ने आवश्यक बन्दोबस्त मिलाउन योजनालाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
आबुँखरैनी ४ डम्पिङ्गमा गत वर्ष पहिरोका कारण भासिएको सडक हालसम्म एकतर्फी मात्र सञ्चालन भइरहेकाले यस वर्ष मनसुन सुरु हुनु पुर्व नै सडक मर्मत गर्न सडक डिभिजन दमौलीलाई अनुरोध गरिएको समेत उहाँले बताउनुभयो ।
पुथ्वी राजमार्ग सडक खण्डलाई २ खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । तनहुँ क्षेत्रमा ८० किलोमिटर सडक खण्डलाई आँबुखैरनी–जामुने (४१ किलोमिटर) र जामुने –पोखरा (३९ किलोमिटर) २ भागमा बाँडेर निर्माण कार्य भइरहेको छ ।
अहिले सडकको भित्तो काट्ने , रिटेन्सन पर्खाल लगाउने, नाली, पुलहरू र डाइभर्सन बनाउने लगायतका कामहरु भइरहेको छ । सडक खण्डमा पर्ने केही घरहरु हटाउने काम समेत सुरु भएको आयोजनाले जनाएको छ भने सो खण्डमा पर्ने रुख काट्ने काम सम्पन्न भइसकेको छ ।
सडक खण्डमा पर्ने विद्युतीय पोलहरु सार्ने विषयमा पनि प्राधिकरणसँग समवन्य भइरहेको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।