कोटखोला जंगलमा आगलागी हुँदा १ जनाको मृत्यु, २ घाइते

वीरेन्द्रनगर । कोटखोला जंगलमा काठ चिर्न गएका कालिकोटका १ जनाको आगलागीमा परेर मृत्यु भएको छ। भने २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार हिजो नरहरिनाथ गाउँपालिका–८ कोटखोला जंगलमा काठ चिर्न गएका खाडाचक्र नगरपालिका–२ का ५५ वर्षीय जयलाल विकको मृत्यु भएको हो।

आगोले जलेर गम्भीर घाइते हुनुभएका उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप उपचारका लागि पठाइएको थियो। उहाँको आज दिउँसो मृत्यु भएको डीएसपी रिमालले जानकारी दिनुभयो।

उहाँसँग जंगलमा काठ चिर्न गएका नरहरिनाथ गाउँपालिका–८ का ४७ वर्षीय दानसिंह विक र सोही ठाउँका ३२ वर्षीय धिरेन्द्र विष्ट घाइते हुनुभएको छ ।

घाइते दानसिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उहाँलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। विष्टको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार अछाम जिल्लाको सामुदायिक वनमा लागेको आगो फैलिएर कालिकोटको कोटखोलामा पुगेको थियो।

‘१२–१४ जना जंगलमा काठ चिर्दै गरेको बेला अछामको एक सामुदायिक वनमा लागेको आगो फैलिएर कोठखोलामा पुगेछ,’ डिएसपी रिमालले भन्नुभयो,‘काठ चिर्दै गरेका अरू भाग्न सफल भएपनि ३ जनालाई आगोले भेट्टायो,’ उहाँले भन्नुभयो,‘घाइतेमध्ये एक जनाको मृत्यु भइसकेको छ, एक जनालाई थप उपचारका लागि काठमाडौं नेपाली सेनाको हेलिकोप्टरमार्फत पठाइएको छ।’

Back to top button