मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ । आज विकास निर्माणमा सहजीकरण गर्न पुग्नुभएका उपप्रमुख श्रेष्ठमाथि आक्रमण भएको हो।

नेकपा (एमाले)का मध्यपुर थिमि नगर कमिटी सचिव रहनुभएका मध्यपुर थिमी नगरपालिका–५ का सुमन जोशीको नेतृत्वका समूहले उपप्रमुखमाथि सुनियोजित आक्रमण गरेको उपप्रमुखको सचिवालयले जनाएको छ।

बालकुमारी हात्तिमहाकाल सडकअन्तर्गत वडा नम्बर–४ को दुईपोखरीमा ढुंगा बिछ्याउने काममा अवरोध गर्दै आक्रमण भएको बताइएको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठले विकास विरोधीहरू विकास निर्माण रोक्न तल्लो स्तरमै उत्रिएको बताउनुभयो ।

जनताको प्रतिनिधिमाथि आक्रमण गर्नु जनतामाथिकै आक्रमण भएको भन्दै नगर प्रमुख श्रेष्ठले उनीहरूलाई उन्मुक्ति दिन नसकिने बताउनुभएको छ । नगरपालिकाले कानुनी कारबाही अघि बढाएको उहाँले बताउनुभयो।

यस्तै, जिल्ला प्रहरी वृत्त थिमिका डिएसपी रविन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै वृत्तमा नगरपालिकाले उजुरी दर्ता गराएको जानकारी दिनुभयो। आरोपीलाई वृत्तमा ल्याउन र अनुसन्धान अघि बढाउन आफूले निर्देशन दिइसकेको उहाँको भनाइ छ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा निर्माणमा सहजीकरण गर्न नगरपालिकाको टोली आज बिहान दुईपोखरी पुगेको थियो।

Back to top button