अभिनेता पल शाह जेलबाट रिहा

काठमाडौं । अभिनेता पल शाह जेलबाट छुट्नु भएको छ । बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उहाँलाई हिजो सफाइ दिएको हो ।

जेलमुक्त गर्न अदालतले गरेको आदेशअनुसार उहाँ आज छुटनुभएको हो । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको फागनु १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गर्नुभएको थियो ।

पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको थियो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।

बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो ।

एउटै व्यक्तिबाट शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी परेको थियो । प्रहरीमा बलात्कारको उजुरी दिएपनि जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्रमा उल्लेख गरेकी थिइन् ।

Back to top button