रास्वपाले सरकार प्रतिको समर्थन कायमै राख्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,‘सरकारका विषयमा पार्टीको पूर्वनिर्णय कायम छ । तत्काल हामीले समर्थन फिर्ता लिदैनौं।’ सरकारबाट भने रास्वपा बाहिरिएको छ।

नेपालको राजनीतिमा अर्को घटनाक्रम विकसित नभएसम्म सरकारलाई दिएको समर्थन कायमै रहेको उहाँको भनाइ छ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको र उम्मेदवारले उम्मेदवारी फिर्ता दिने समय रहेकाले कसलाई मतदान गर्ने भन्नेबारे कुनै निर्णय नभएको उहाँले बताउनुभयो।

आजको बैठकले चितवन–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको बुर्लाकोटीले जानकारी दिनुभयो।

यस्तै, बैठकले उक्त उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।

Back to top button