
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमाथिको सुनुवाई सकिएको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतका युएईमा हुने खेल खेल्न जान पाउनुपर्ने माग गर्दै सन्दीपका तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गर्नुभएको थियो।
सरकारी वकीलको कार्यालयले भने लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएको थियो ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतको आदेश थियो । तर, उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान नपाउनेलगायत शर्त राखेर थुनामुक्त गर्ने निर्णय गरेको हो । त्यसपछि उहाँ धरौटीमा रिहा हुनुभएको हो ।
यस्तै, सुनिवाई सकिएकोले सन्दीप विदेशमा खेल्न जान पाउने–नपाउने विषयको आदेश पनि आजै आउने अपेक्षा गरिएको छ ।