आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटः नेपालसँग हङकङ ९ विकेटले पराजित

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले आज हङकङलाई ९ विकेटले पराजित गरेको छ । यो सँगै नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।

युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२ दशमलव १ ओभरमा १ विकेट गुमाएर पार गरेको हो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाउनुभयो भने उत्तम थापा मगरले अविजित ३९ रनको योगदान गर्नुभयो ।

आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दा ५० बल खेलेर उत्तमले ४ चौका प्रहार गर्नुभयो । २६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाउनुभयो ।

ओपनर अर्जुन कुमालले १६ रन जोड्नुभयो । हङकङका डानिएल मोर्गन मपले १ विकेट लिनुभयो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६ दशमलव ३ ओभरमा १२० रनमा अलआउट भएको थियो ।

हङकङका लागि पार्थ भागवतले ९३ बल खेल्दै ४ चौका प्रहार गरी सर्वाधिक ३६ रन बनाउनुभयो । मोहम्मद अलियान जाहिरले २९ रन बनाउनुभयो ।

हङकङका लागि पाँचौं विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गर्नुभएको थियो । हङकङलाई अलआउट गर्न नेपालका हेमन्त धामी, सुबास भण्डारी र दिपेश कँडेलले शानदार बलिङ गर्नुभयो । हेमन्तले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

यस्तै किफायती बलिङ गरेका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडन नै राख्दै जम्मा १० रन २ विकेट लिनुभयो ।

अर्का स्पिनर दिपेश कँडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिनुभयो । आकाश चन्दले ८।३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिनुभयो ।

आज नै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ८ विकेटले हराएर लगातार तेस्रो जित निकालेको छ । अपराजित नेपाल र युएईको ३ खेलबाट समान ६ अंक छ ।

नेपालले अब अर्को खेल मलेसियासँग भोली खेल्नेछ । नेपाल र युएईबीच अन्तिम खेल बिहीबार हुनेछ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने छ टिम २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकपमा छनोट हुनेछ ।

Back to top button