प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता नहुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोको भनाई

विराटनगर । नेकपा एमालेले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएपनि माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाएको छ ।

माओवादी प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले माथि जे जस्तो परिस्थिति निर्माण भएपनि प्रदेश १ मा सत्ता समीकरणको फेरबदलबारे अहिले नै नसोचेको बताउनुभएको हो ।

आङ्वोले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन रहिरहने भन्दै यहि सरकारले नै निरन्तरता पाउने सञ्चारकर्मीसँग बताउनुभएको छ ।

प्रदेश १ मा माओवादी, जनता समाजवादी र राप्रपाको समर्थनमा एमाले नेतृत्वको सरकार छ । ९३ सीट रहेको प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सिटसहितको समर्थनमा एमाले नेतृत्वको सरकार बनेको छ । सरकारमा माओवादीका २, राप्रपाका १ र जसपाका १ जना मन्त्री छन् ।

Back to top button