राष्ट्रपतिको निर्वाचन अघि नै विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका प्रचण्डले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अघि नै ८ दलसँग विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्न खोज्नुभएको हो ।

उहाँले संविधानको धारा १०० को उपधारा दुईबमोजिम विश्वासको मत लिनुपर्नेछ । दलहरुबिचको तालमेल र गठबन्धनका बिषय अस्थिर बनेपछि सुनिश्चितता खोज्दै राष्ट्रपति निर्वाचन अघि नै विश्वासको मत लिन खोज्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार निर्वाचनपछि विश्वासको मत लिँदा झमेला आइपर्न सक्ने भएकाले अगाडि नै लिने तयारी छ।

प्रचण्ड नेतृत्वको सरकारलाई ८ दलका १५३ जना सांसदको साथ रहेको छ। प्रधानमन्त्रीसँग नेपाली कांग्रेस ८८, नेकपा माओवादी केन्द्र ३२, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, नागरिक उन्मुक्ति ४ र राष्ट्रिय जनमोर्चा एकसहित १५३ सांसदको साथ छ।

Back to top button